काठमाडाैं । २१ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन ।
यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि..सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।
असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता नेपालीमा समाजमा छ । यो वर्ष असार मध्यसम्म पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ ।
नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलताभई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले स्वास्थ्यवर्धक मानिन्छ । नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पौष्टिक पदार्थ मानिएको छ ।


























