काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरुबीच वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार राति वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारी सहभागी थिए भने सो क्रममा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । यद्यपि बैठकमा भएका भएका थप विषय प्राप्त भइसकेको छैन।
चैत २५ गते प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।
यही वैशाख २ गते मन्त्रिपरिषद्को बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आव्हान गरेको थियो ।