काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्चले अर्को पेसी असार १८ गतेका लागि तोकेको छ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधीवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो । सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो ।


























