एजेन्सी– विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ। उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्।
टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्। भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षे बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।
अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर अस्पताल लगिएको छ। टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो। अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्याएको थियो।
पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिबार अबेरसम्म पनि परकम्पहरू आइरहेका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।
टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ।
जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन्।