काठमाडौँ । यो वर्ष नेपालमा धान रोपाइँको क्षेत्र घट्ने अनुमान गरिएको छ । ललितपुरस्थित कृषि विभागमा बिहीबार ‘२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ’ महोत्सव, २०८१ को सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गत वर्षको तुलनामा यो वर्ष ४० हजार १५३ हेक्टर क्षेत्रफल घट्ने अनुमान गरिएको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष १४ लाख ३८ हजार ९८९ क्षेत्रफलमा धान रोपाइँ भएको थियो । रोपाइँ हुने अनुमानित क्षेत्रफल यसमध्ये पछिल्लो तथ्याङ्क (१२ गते) अनुसार १ लाख ३६ हजार ४११ अर्थात् ९.८ प्रतिशत रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा बढी हो गत वर्ष असार १० गतेसम्ममा ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।


























