पाल्पा – नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि पाल्पा सहित धादिङ र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।

यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि सोही दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।

यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको पनि जानकारी सूचनामा दिइएको छ ।

जस अन्तरगत पाल्पाको रामपुर नगरपालिकाको वडा नं. १ देखि ४ सम्मका सात ठाउँमा टावर निर्माण हुने छन् । त्यस्तै निस्दी गाउँपालिकाको वडा नं ५ देखि ७ सम्मका १२ ठाउँमा टावर निर्माण गरिने छन् । रामपुर र निस्दीका गाडाकोट, अर्चले, ज्यामिरे, गल्धा, दर्छा लगायतका ठाउँमा टावर निर्माण गर्ने गरी सूचना प्रकाशित गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here