धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी

पोखरा । कोटीहोम सञ्चालनका लागि पोखरा आएका विवादित धर्मगुरु विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीलाई पोखराका वडाध्यक्षले धम्की नदिन चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर ‘धर्मका लागि अधर्म गर्न पनि तयार रहेको’ प्रतिक्रिया दिएका कृष्णमूर्तिलाई २६ नम्बर वडाका अध्यक्ष नरेन्द्र थापाले धार्मिक अराजकता नमच्चाउन चेतावनी दिएका हुन् ।

‘धर्म रक्षाका नाउँमा अधर्मी हुन तयार छु भन्ने कथित व्यक्तिबाट सिङ्गो महानगरलाई धम्की दिने कार्यलाई सह्य मान्न सकिँदैन । धर्मकै विनाश गरेर धर्मको रक्षा कसरी हुन्छ ?,’ उनले भने, ‘गेरु वस्त्र धारण गर्दैमा कोही धार्मिक र सर्वज्ञान प्राप्त हुँदैन । पोखरामा धर्मको नाउँमा धार्मिक अराजकता मच्चाउने कुरा कदापि स्विकार्य हुँदैन ।’

मंगलबार सामाजिक सञ्जालमा स्टाटस मार्फत थापाले जथाभावी रुख काटेर धर्म रक्षा नहुने बताए । ‘बर, पिपल र समीका बोटलाई त्रिदेवको रूपमा व्याख्या गरिएको छ । धार्मिक र वैज्ञानिक हिसाबले महत्त्व बोकेका बोटहरूलाई महायज्ञका नाममा ठुटो बनाइएकोमा हामी हिन्दु धर्मका अनुयायीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले अघि थपे, ‘त्रिदेवलाई नै काटेर कस्तो धर्मको रक्षा गर्न खोजिएको हो रु धर्म प्राकृतिक सम्पदाको रक्षाका लागि हुनु पर्ने हो तर पछिल्लो समय व्यापार र असुलीको माध्यम बनाइएको छ ।’

उनले पोखराको धार्मिक वातावरण नबिगार्न कृष्णमूर्तिलाई सुझाएका छन् । ‘कोटीहोमको मूल्य मान्यतालाई बिर्सिएर यसरी अराजकता प्रदर्शन गर्न धर्मका नाउँमा सुहाउने कुरा हैन,’ थापा भन्छन्, ‘यो स्थानीय सरकार हो । स्थानीय सरकारले धर्म, कलासंस्कृती, धार्मिक सम्पदा, मठ मन्दिर, चौतारा, ठाँटी पौवा, ताल, पोखरी कसरी संरक्षण गर्न पर्दछ भन्ने विषय कसैले सिकाइरहनु पर्दैन ।’ आफूहरू पुराना र ऐतिहासिक रुखहरू संरक्षणका लागि बजेट विनियोजन गरेरै काम गरिरहेको थापाले दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here