काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारेर ओमन पुर्याएर मानव बेचबिखन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले इलाम फाकफोकथुम गाउँपालिका ६ घर भइ काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक घर भइ ललितपुर भैंसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारका लागि ओमानमा फ्रि भिसा र फ्रि टिकटमा मासिक ६० हजार रूपैयाँ कमाइ हुने घरेलु काममा पठाइदिन्छु भनेर पीडितलाई प्रलोभनमा पारेका थिए । उनीहरुले पीडितलाई ओमानमा एउटा कम्पनीमा राखी ३५ सय ओमानी रियलमा घरमालिकलाई बिक्री गरेका थिए । घरमालिकले शारीरिक तथा मानसिक यातना दिइ २२ घण्टासम्म काममा लगाएको पीडितले बताएका छन् ।
कामकै क्रममा अचानक बेहोस भएपछि घरमालिकले पुनः कम्पनीमा फिर्ता गरेपछि कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाएका थिए । पीडितले नेपालमा रहेका भाइसँग कुरा गरेपछिमात्र घटना बाहिरिएको थियो ।