काठमाडौँ – निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार २४ वर्षीय दुर्गा तामाङ, २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउन्टरका कामदार ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो । चाडपर्व (होली)को अवसर पारेर काठमाडौँबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउन्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको जनगुनासो आए पश्चात् यस कार्यालयबाट सादा पोसाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ ।
निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।