काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ मा पुगेको छ। नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार ६ सय ४३ कित्ता शेयर रु दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ।नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० बराबरको कारोबार भएको छ।
छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन्।
यस्तै, इन्फिनिटी लघुवित्त दुई दशमलब ४७, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलब ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन्।


























