काठमाडौं, २४ मंसिर स् स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खाङ्सेर रिम्पोछेले लेख्नु भएको पुस्तक ‘ बलियो भएर खुसीसाथ बाचौं’ को एक समारोहका बिच आईतबार लोकार्पण गरेका छन् । थाङकार देछेन छ्योलिङ गोन्या छोण्डोल सितापाइलाले उक्त पुस्तक प्रकाशन गरेको हो ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले राम्रो कामको सुरुवात आफैबाट गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सके बलियो भएर खुसीसाथ बाच्न सकिने बताए । मानिसलाई खुसीका साथ बाच्नका लागि सकारात्मक सोच, नियमित व्यायाम र खानपानमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले सन्तोषका साथ बाच्नका लागि गहिरो निद्राको अझ ठूलो आवश्यकता रहेकोमा जोड दिए । स्वास्थ्य समस्याका कारण पनि मानिस तनावमा पर्ने गरेको बताउदै मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि उपचारको अभावमा कुनै पनि नेपालीले मृत्युबरण गर्न नपरोस भनेर काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी बौद्व विश्वविदालयका डीन मणिकरत्न शाक्यले पुस्तकले दिन खोजेको सन्देश जिवनउपयोगी भएकाले पुस्तक सबैका लागि उपयोगी भएको बताए । पुस्तकका लेखक खाङ्सेर रिम्पोछेले पहिलो पटक आठ वर्ष पहिले भियतनामको भाषामा लेखिएको यो पुस्तक नेपाली भाषामा अनुवाद गरेर सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तक पढेपछि प्राप्त हुने ज्ञानले थोरै मानिसले पनि शान्ति प्राप्त गर्न सके पुस्तकले सार्थकता पाउने उनले बताए । यो पुस्तकको नेपाली अनुवाद मिलन शाक्यले गरेका हुन । पढ्न चाहनेका लागि यो पुस्तक निशुल्क उपलब्ध गराइने पनि रिम्पोछेले जानकारी दिए ।