काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ।सोमबार आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताए।‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो।

अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता प्रकट गरे।अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पािलकामा कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए।भेलामा विवाह गराउने तथा विवाह कार्यमा सहभागिता जनाउने पण्डित, धर्मगुरु, मौलाना, राजनीतिकर्मी, समाजसेवी, सामाजिक अगुवा, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका, विभिन्न बाल क्लबमा आवद्ध बालबालिकासहितको बृहत् सहभागितामा अब उपरान्त पिपरा गाउँपालिकामा बालविवाह नगर्ने, नगराउने सबै पक्षले लिखित प्रतिबद्धता जनाएका थिए।

सात वडा रहेको पिपरामा दुई वर्षअघि वडा नं १ मा ३१, २ मा ४१, ३ मा ४९, ४ मा ५४, ५ मा ४४, ६ मा ४६ र वडा नं ७ मा २६ प्रतिशत वालविवाह हुँदै आएको र सम्पूर्ण पालिकामा ४२ प्रतिशत बालविवाह हुँदै आएको तथ्यांक प्रस्तुत गरिएको थियो।गाउँपालिका र रतौली युवा क्लबले बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here