काठमाडौं- दाङमा टिपरकाे ठक्करबाट मृत्यु भएका दुई किशाेरकाे शव घरपरिवारले बुझ्न सहमत भएका छन्।उचित क्षतिपूर्ति र चालकलाई कडा कानुनी कारबाहीकाे माग राख्दै आफन्त तथा परिवारजनहरूले माग राख्दै आन्दाेलनसमेत थालेका थिए। आइतबार जिल्ला प्रशासन कार्यालय, घाेराहीमा भएको दुई पक्षीय वार्ताले सहमति जुटाएको छ।

‘बीमाले ताेकेकाे रकमभन्दा अतिरिक्त प्रति परिवार एक लाख ५० हजारका दरले थपेर राहत दिने सहमति भएको पीडित पक्षबाट वार्तामा बसेका बालेन्द्र केसीले जानकारी दिए।‘बीमाभन्दा अतिरिक्त डेढ/डेढ लाख रुपैयाँ दिने, नि:शुल्क शववाहन उपलब्ध गराउने सहमति भयाे’, उनले भने, ‘कानुनीबमाेजिम हुने कारबाही र अन्य राहतकाे प्रक्रिया अघि बढाउने सहमति भएको हाे।’

शुक्रबार राति घाेराही उपमहानगरपालिका-१० झारबैरामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियाे।तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेकाे रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियाे। मृतककाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएकाे छ। अहिले पाेष्टमार्टम गर्न थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here