काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसरले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको छ ।
१७ माघमा लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि कारबाही हुनुपर्ने सफलको माग छ । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन पनि दिएका छन् । उनी सरकारी वकिलसम्म पुगेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ माघमा लामिछानेसँग नेपाली नागरिकताको प्रमाण पत्र नभएको ठहर गरेसँगै उनले सांसद्, मन्त्री र पार्टी सभापति पद गुमाएका थिए । पछि फेरि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिएका थिए ।
नयाँ नागरिकता प्राप्त गरेपछि उनी पार्टी सभापति बनेका थिए । त्यसअघि उनले पुरानै नागरिकताको आधारमा राहदानी बनाएर प्रयोग गरेका थिए ।
लामिाछानेले २०५० सालमा वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए । पछि अध्ययन र रोजगारीको सिलसिलामा उनी संयुक्त राज्य अमेरिका पुगेका थिए ।
२१ फेब्रुअरी २०१४ मा उनले अमेरिकी नागरिकता लिएका थिए । यसको तीन वर्षपछि पारिवारिक भिसामा नेपाल आएर उनी बसेका थिए । त्यसक्रममा उनले नेपालमा कार्य अनुमति लिएर एक टेलिभिजन च्यानलमा कार्यक्रम चलाएका थिए । त्यहीबीच अवैध नागरिकताको आधारमा बनाएको राहदानी लिएर उनी रिपोर्टिङका सिलसिलामा विभिन्न मुलुक पुगेका थिए ।
गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखा रविको नागरिकताबारे छानबिन गर्न उजुरी परेपछि १२ मंसिर २०७९ मा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन पुगेको थियो । प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई छानबिन गर्न भनेको थियो । पछि जिल्ला अदालत, काठमाडौंमा सफलले रिट निवेदन दिएका थिए ।