भारतीय अभिनेत्री कङ्गना रनौतले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको छ ।
लामो समयदेखि नै कङ्गना राजनीतिमा आउन लागेको चर्चा चलिरहेको थियो । आगामी वर्ष भारतीय जनता पार्टी (बीजेपी)को टिकटमा उनले चुनाव लड्न लागेको भन्दै अभिनेत्रीको पिता अमरदीप रनौतले जानकारी दिएका हुन् ।
अभिनेत्रीलाई कुन सिटबाट कुन ठाउँको टिकट दिने भन्ने कुराको तय चाँहि पार्टीले गरिनसकेको बताइएको छ । आइतबार कंगनाले कुल्लुको शास्त्रीनगरस्थित आफ्नो घरमा बीजेपीको राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेकी थिइन् । सो भेट लगत्तै अभिनेत्रीले बीजेपीबाट चुनाव लड्ने अड्कलबाजी तीव्र बनेको थियो ।
कङ्गना प्रायः प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरिरहन्छिन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरुले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए । खबरहरूका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनावमा उत्रिने छन् । तर यसबारे अहिलेसम्म पुष्टि भने भइसकेको छैन ।
यस अघि कङ्गना एरियल एक्शन फिल्म तेजसमा देखिएकी थिइन् । फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भयो । कङ्गनाको आगामी फिल्म इमरजेन्सी हो । आफ्नै निर्देशनमा बनेको यो फिल्ममा कङ्गना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिदैंछिन् ।


























