काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर र नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले नेतृत्व गरिरहेका छन् ।
बैठकमा ऊर्जा, पर्यटन, नागरिक उड्डयन, क्रश बोर्डरलगायतको विषयमा छलफल चलिरहेको छ । आयोगको बैठकमा दुवै देश बिच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
कृषिजन्य उत्पादनमा एक अर्का देशमा कर नलगाउने प्रावधान खारेज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको बताइएको छ । त्यस्तै, बैठकमा भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।
नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव पनि नेपालले गर्ने स्रोतले दाबी गरेको छ । त्यस्तै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको ‘एन्टी डम्पिङ’ ड्युटी हटाउनु पर्ने प्रस्ताव पनि नेपालको तर्फबाट आउने भएको छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।


























