काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन्।मन्त्री ज्वालाले विकास निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकूल हुने गरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेश गरिएको पनि जानकारी दिए।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेश गर्नेसमेत बताए।विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाइ नगर्ने मन्त्री ज्वालाको भनाइ थियो। मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुने गरी सार्वजनिक सडकसम्बन्धी कानून र सवारी तथा यातायातसम्बन्धी कानूनलाई नयाँ रुपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेकोसमेत बताए।
मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रुपमै धेरै विषयहरु सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे।