काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्य समिति, भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन्।उनले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाए।
उनले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए।सोमबार नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलवार हतुवगडीमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ। स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ।
दुई पालिकामा हुने शिविरमा हस्पिटलको विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ। शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरू हुनेछन्।