काठमाडौं । कुनै बेला सर्वाधिक बोनश दर को दाबी गर्दै बीमितलाई प्रभावित पारेको नेपाल लाइफले अहिले यस्तो भन्न सक्ने अवस्था छैन । यसको घोषित बोनश दर अन्य पुराना जीवन बीमा कम्पनीको तुलनामा कमजोर छ। नयाँ बोनश दरको घोषणासँगै पुनः बोनश घट्ने भयले अभिकर्ताहरुले पहिलेको भन्दा बोनश रकम बढाउनका लागि व्यवस्थापनसँग माग गरेका हुन् ।
जीवन बीमा कम्पनीले पूँजी र जीवन बीमा कोष लगायतको रकम लगानीबाट प्राप्त गर्ने प्रतिफलका आधारमा बीमितले पाउने बोनश दर निर्धारण हुँदै आएको छ। बोनश दरको निर्धारण वित्तीय सिद्धान्तमा मात्र नभएर गणितीय विधिको समेत प्रयोग गरेर हुँदै आएको छ। बोनश दर निर्धारणका क्रममा बीमाङ्कीले अलग अलग प्रकारका बीमालेखले एक आर्थिक वर्षभरमा गरेको बीमाशुल्क आम्दानी, कमिशन तथा व्यवस्थापन खर्च, संकलित कोषको लगानीवापत प्राप्त प्रतिफल, बीमित प्रतिको भावी दायीत्व लगायतको पक्षलाई केलाएर बचत रकम गणना गर्छन् । यस्तो बचतवापतको रकमबाट ९० प्रतिशत बीमित कोषमा र बाँकी १० प्रतिशत शेयरधनी कोषमा जम्मा हुने गरेको छ।
संघले अघि सारेका मागमा व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने ब्याज रकममा सबै बीमितलाई ५० प्रतिशत छुटको व्यवस्था गर्न अनुरोध गरिएको छ। देशको विषम आर्थिक परिस्थितलाई मध्यनजर गर्दै संघले माघ १ गतेदेखि नै छुट योजना लागू गर्न माग गरेको छ। पहिलो किस्तावापतको रकम मात्र भुक्तानी गरेर बीमालेखलाई निरन्तरता दिन नसकेका बीमितलाई कुनै पनि बीमा योजनामा परिवर्तन गरेर बीमालेखलाई निरन्तरता दिने सुविधा ल्याउन समेत संघले माग गरेको छ।
सात बुँदे माग पत्रमा अभिकर्ता प्रोत्साहन योजना लागू गर्दा प्रत्येक बीमा योजनामा एएम र बिसी मा गणना हुने बीमाशुल्क व्वयसाय नै निःशर्तरुपमा प्रोत्साहन योजनामा समेत लागू गर्न अनुरोध गरिएको छ। बालबालिका सम्बन्धी जीवन बीमालेख बजार सुहाउँदा सुविधा सहितको ल्याउनका लागि समेत संघले सुझाव दिएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७९ को परिपालना नगर्दा केही महिनादेखि नेपाल लाइफ इन्स्योरेन्सलाई प्राधिकरणले बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न प्रतिबन्ध लगाई दिएको छ।
पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको सचिवालयका लागि सचिवालय कक्षको व्यवस्था गरिदिन संघले अनुरोध गरेको छ। साथै नेपाल लाइफका शाखा उपशाखामा अभिकर्ताका लागि कार्य कक्षको व्यवस्था गरि दिन समेत संघले अनुरोध गरेको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशन २०७९ मा प्रत्येक कार्यालयमा अभिकर्ताका लागि बीमकले कार्यकक्षको उचित व्यवस्था गरिदिनुपर्ने प्रावधान छ।


























