काठमाडौँ । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।
सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रुपान्तरण र समाजमा ब्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शितलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन् ।सुनसरी क्षेत्र नं. ३ को विकासमा आफु सदैव लागि पर्ने बताउँदै बर्जु, गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा आफुले पहल गरिरहेको पनि बताइन् । केही समय अगाडी सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको समेत चौधरीले बताइन् ।