काठमाडौँ । मधेश प्रदेश सरकारले फागुन ६ गते विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी दलहरुमध्ये कसैले समर्थन फिर्ता नलिएपछि विश्वासको मत लिने संवैधानिक प्रावधान छ । सोही व्यवस्था अन्तर्गत मधेश प्रदेश सरकारले गठन भएको २७ औँ दिनमा विश्वासको मत लिन लागेको प्रदेशसभा कार्यालयले जनाएको छ । सबै दलहरुको समर्थन प्राप्त मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिने लागेको हो ।मुख्यमन्त्री यादवले आइतबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी भएको पुष्टि गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारमा सहभागी दलहरुसँग छलफल गरेर विश्वासको मत लिने समय तोकिएको छ, त्यसका लागि त्यही दिन बिहान दलको बैठकमा डाकिएको छ । अनि दिउँसो विश्वासको मत लिइन्छ ।’अहिले कांग्रेस, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा मात्रै सरकारमा सहभागी छन् । मधेश प्रदेश सरकार गठन हुँदा समर्थन गरेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सहभागी दलहरुको अंक गणितीय हिसाब अझै पनि बहुमत देखिन्छ ।
प्रदेशसभामा कांग्रेसको २२, जसपाको १८, माओवादी केन्द्रको ९, लोसपाको ९ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो हिसाबले प्रदेशसभामा सत्ता गठबन्धनकै ६५ जना सांसद छन्, जुन बहुमतका लागि पर्याप्त छ । प्रदेशसभामा ५४ मत प्राप्त गर्नेले सरकारको नेतृत्व गर्न पाउँछन् । प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य रहेक छन् । माघ ९ गते जनमतका दुई मन्त्री सरकारबाट बाहिरिएका थिए । त्यसैले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी बाध्यता छ । आइतबार विश्वासको मत लिनेगरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार नै पत्र पठाइसकेका छन् ।