काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन्।सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवाजसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए।संसद सदस्यको, सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाइ थियो। उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।उनले भन,’अर्थ मन्त्रालयको कोष भनेको जनताको राजश्व हो। अर्थमन्त्री पेवा होइन। अर्थमन्त्रीले यो मेरो ढुकुटी हो। यो मैले छुन दिन्न भन्न पाउँदैन। त्यसकारण कुनै शिर्षक राख्ने हो भने अर्थमन्त्रीले फलाना सांसदले देश र जनताको हितमा यो विषय सुझाव दिनु भएकाले मैले यो शिर्षक राखेको हुँ भन्न सक्नुपर्छ। मनपरी गर्न पाइँदैन।’