काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताए । तर आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।

यस्तै महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सारेका छन् । ‘देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन’, महतोले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धरासायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै ।’

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै एकताबद्ध भएर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको महतोको भनाइ छ ।

‘यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने छ र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने छ’, महतोको दाबी छ, ‘अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जलि दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ ।’ यसको निम्ति साथ दिन उनले सबैसँग अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here