काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको संविधान २०७२ पश्चिमा ज्ञानसत्ताको जगमा जारी भएको आरोप लगाएका छन् । लोसपाबाट विद्रोह गरेका नेता महतोले पहिलो पटक आफ्नो अभियानको बारेमा जानकारी गराउन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष वक्तव्य जारी गर्दै नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिक र वैचारिक पश्चिमा ज्ञानसत्ताको जगमा जारी भएको दाबी गरेका हुन् ।
वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशिक, पर–शासित छ र पर–निर्भर रहेको उनको टिप्पणी छ । गणतन्त्र औपनिवेशिक भएको कारणले जनताको सत्त्व र स्वाभिमानलाई बोक्न नसकेको बताउँदै उनले त्यसले गर्दा राज्यसत्ताको स्थिरता नरहेको जिकिर गरे । उनले भने, ‘देश विकासको निरन्तरता छैन, सांस्कृतिक राष्ट्रवाद निर्माण हुन सक्दैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सक्दैन, देश र जनता पर–शासित र पर–निर्भर बनाइयो मात्रै हैन, निरन्तर नेपाली समाज खण्डित भएर गइरहेको छ ।’