काठमाडौँ । निर्वाचन आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई पत्र पठाएको छ । जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि संसद्को एक सिट खाली भएको छ । सो ठाउँमा समानुपातिक सूचीमा रहेका एक जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले पत्र पठाएको जसपाका कार्यालय सचिव सीपी सिंहले बताए ।

चैत ४ गते ह्रदयघातका कारण सांसद मञ्जु अन्सारीको निधन भएको थियो । निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ । पार्टीले उनकै नाम पठाउने तयारी गरेको छ । यद्यपि पार्टीले यसबारे आधिकारिक निर्णय गर्न बाँकी रहेको सिंहले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो । तेस्रोमा हसिना खानको नाम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here