काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल भएको थियो । घरेलु मैदान जयपुरमा खेलिएको उक्त खेलमा राजस्थान रोयल्स १२ रनले विजयी भएको थियो । खेलमा राजस्थान रोयल्सले पहिले ब्याटिङ गरेको थियो । राजस्थानको तेस्रो विकेटका रूपमा जस बट्लर ११ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लू आउट हुँदै पेभेलियन फर्किएका थिए । खासमा उनलाई सुरुमा अम्पायरले आउट दिएका थिएनन् । त्यसपछि कुलदीपले अम्पायरसँग एलबीडब्लूको अपिल गरेका थिए । तर, अम्पायरले बट्लरलाई नटआउट घोषित गरिदिए । दिल्लीका कप्तान ऋषभ पन्त पनि डिसिजन रिभ्यू सिस्टम (डीआरएस) लिने पक्षमा देखिएका थिएनन् । अर्थात, कप्तान पन्त पनि अम्पायरको निणर्यमा सहमत देखिएका थिए । तर, कुलदीप भने बट्लर एलबीडब्लू आउट भएकोमा ढुक्क थिए । त्यसैले उनी दौडँदै आफ्ना कप्तान ऋषभ पन्तनजिक गए । उनले कप्तान पन्तलाई डीआरएस लिन आग्रह गरे । अझै पनि कप्तान पन्त डीआरएस लिन तयार भएनन् । अन्ततः कुलदीपले बारम्बार डीआरएस लिन आग्रह गरेपछि कप्तान पन्त उनको कुरा मान्न बाध्य भए । डीआरएममा जब मिहिन तरिकाले हेरियो त्यसमा बट्लर एलबीडब्लू आउट भएको स्पष्ट देखियो । त्यसपछि अम्पायरले आफ्नो पहिलेको निर्णय फिर्ता लिँदै बट्लरलाई एलबीडब्लू आउट दिए ।