काठमाडौँ । नेपाली कृषि वैज्ञानिकहरूको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास) नेपालको बृहत् छैटौँ राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा हुने भएको छ । ललितपुरमा आगामी बुधबार सो राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा हुने भएको हो । “कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने नाराका साथ सो सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति रहनेछ । सो सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ । यो सम्मेलनले वैज्ञानिकको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले बताए ।
सम्मेलनको पहिलो सत्रमा चार वटा विषयगत कार्यपत्र प्रस्तुति र छलफल तथा दोस्रो सत्रमा नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम छ । सन् १९९५ मा स्थापित यो संस्थाले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरूको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने, वैज्ञानिकहरूलाई पुरस्कृत गर्ने र तालिम प्रदान गर्ने, कृषि वैज्ञानिकहरूका अनुभवलाई प्रस्तुतीकरण मार्फत सम्प्रेषण गर्ने, वैज्ञानिकहरूका हकहितका सवालमा बहस, छलफल गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।