काठमाडौं- संघीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ। जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, दिउँसो सवा १ बजेबाट सुरु हुने राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने, अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।