काठमाडौँ । मंगलबार दिनभर छलफल चल्दा पनि कर्णालीको समस्या समाधान हुन सकिरहेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको सन्देश ल्याएर कर्णाली आएका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पटक–पटक छलफल चलाउँदा पनि अहिलेसम्म कुनै निष्कर्ष आउन सकिरहेको छैन । शाहीले आफ्नै दलका नेताहरुलाई र एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेश इञ्चार्ज लेखराज भट्ट लगायतका नेताहरुसँग संयुक्त र छुट्टा–छुट्टै छलफल समेत चलाए । तर, पनि मुख्यमन्त्री राजकुमार शर्मा र कँडेलले आ–आफ्ना अडान छाडेका छैनन् । प्रदेशमा माओवादी पार्टी एकातिर छ भने संसदीय दल अर्कोतिर छ । संसदीय दलले आज विश्वासको मत लिएर जाने निर्णय गरिसकेको छ । तर, पूर्व मुख्यमन्त्री शाही केन्द्रको निर्णयलाई कार्यान्वयन गरेर लैजाने कुरामा सहमति जुटाउने प्रयास गरिरहेका छन् ।मंगलबार तीन पटक एमाले नेताहरुसँग छलफल गरेका शाहीले निरन्तर मुख्यमन्त्री शर्मालाई मनाउने प्रयास गरे । तर, बिना निष्कर्ष दिन बित्यो । आज बिहान पनि शाही, मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसीबिच छलफल भयो । तरपनि अझै माओवादीबिच ठोस् निर्णय निस्किएको छैन । अब खाना खाएर पुनः एमाले–माओवादीबिच संयुक्त बैठक बस्ने तयारी छ ।
पूर्व मुख्यमन्त्री एवम् माओवादी नेता शाहीले केन्द्रको निर्णयलाई नै कार्यान्वयन गरेर जाने बताए । त्यो भनेको मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिनुहुन्छ ? भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘अरु नबोलौं कुरा सकरात्मकतर्फ बढेको छ, केन्द्रको निर्णय कार्यान्वयन हुन्छ ।’