काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे।
उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको? भन्दै प्रश्न गरे। उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो? भन्ने प्रश्न पनि गरे। सांसद पाैडेलले कुनै पनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्नेमा जाेड दिए। उनले प्रश्न उठ्दैमा र आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभए पनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको जिकिर गरे। सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने उनकाे भनाइ छ।सांसद पाैडेलले भने, ‘प्रश्न उठ्दैमा आरोप लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन। तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो। सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ। सहकारीको विषय केही तथ्यहरूसँग जोडिएको छ।हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो। छानबिनका लागि निर्दोष छु भन्नेहरू किन छानबिन समिति बनाउन तयार नहुनुभएको त? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ। नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन।’ उनले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको जिकिर पनि गरे।