काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो  । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सन्दीपले दायर गरेको मुद्दासँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन माग अनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिब नदेखिएको खतिवडाको आदेशमा उल्लेख थियो। एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदन उपर एकैसाथ सुनुवाइ हुनु आवश्यक देखिएको खतिवडाको आदेशमा भनिएको थियो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो ।

आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए । यस्तै सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् ।  यस्तै आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here