काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ ।

नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।

वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here