काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन् ।
राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेबसाइटमा पनि राखिएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सरोकारवाला सबैलाई धन्यवाद दिए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनै पनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउँदै कार्यान्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औँल्याए । सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसँगै राखेपले पूर्वाधारको विवरण पनि सार्वजनिक गर्ने बताउनु हुँदै क्रमैसँग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।