काठमाडौँ । गुणस्तरीय औषधिको सेवाबाट वञ्चित भएको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।
हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको महानगरको भनाइ छ । यस्तै, चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो समेत प्राप्त गरेको आधारमा सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।
साथै महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्न फैसला गरेअनुसार सो नियम पालना गर्न भनिएको सो सूचनामा उल्लेख छ ।