काठमाडौं । काठमाडौं जिल्ला अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आज गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय दिइएकाे हो ।
जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमती आरती गिरी रावलले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा गत वर्षको वैशाख १९ गते जाहेरी दिएकी थिइन् ।
सर्वोच्च अदालतको गत चैत २१ गते मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई थुनामा पठाएको थियो । उनले वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।
कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए ।
गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।