काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ। आइतबार न्यायाधीश राउतको इजलासमा चौथो नम्बरमा पेशी तोकिएको हो । 

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेको थियो । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।

उनले रिटमा गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा,माओवादी केन्द्र , माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतलाई विपक्षी बनाएका छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पाण्डेलाई मत नदिनु भनी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो ।

उक्त ह्विप उल्लङ्घन गरेको आरोपमा उनीमाथि कारबाहीको सिफारिस माओवादीले गरेको थियो । माओवादीको सिफारिसपछि सभामुख कृष्णप्रसाद धितालले उनमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाएका थिए । सभामुखले कारबाहीको निर्णय पढेर सुनाएपछि उनी निलम्बनमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here