काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र सांसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।
उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद बैठक आह्वान गरेका छन् । मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम सांसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।
पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।