काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसंगती निम्त्याइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन सबैमा आग्रह गरे ।
‘छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो । अचानक घट्ना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिड्नुपर्ने अवस्था आयो । यसलाई सामान्य घटना लिन मिल्दैन् । ऋण लिएर चालु खर्च चलाएको नेपालमा त यो समान्य नै मानिएला । बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र घटना घट्यो । नेपालमा त कुनैपनि बेला केही हुन सक्छ,’ उनले भने,‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमकहरु आइरहेको छ । सामाजिक सञ्जालले धेरै विसंगतिहरु निम्त्याइरहेको छ । राम्रो पनि छ तर विसंगती ल्याएको छ बंगलादेशले देखाएको छ । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन होला ।’
उनले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताए । सरकारले गर्ने लगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन् भनेर खबरदारी गर्न अपिल गरे ।