काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो ।
कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
वियु निर्वाचन चैत ५ गते हुँदैछ । शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । तर, उपत्यकामा ७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
उपत्यकाभित्र पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, आरआर, विश्व भाषा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्रिचन्द्र र आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि विवाद छ । विवादका कारण निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ ।