काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यसपालिको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनले असोज २६ गते शनिबार विजया दशमीका दिन टीका लगाइदिने भएका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार साढे ३ बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवं विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यसपछि अपराह्न साढे ३ बजेदेखि साढे ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने छन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं.१ मा व्यवस्था मिलाइने छ ।
