काठमाडौं । तनहुँ १, चितवन २, बारा २ मा हुने उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिने भएको छ । आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज चैत ८ देखि १२ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
विभिन्न कारणले रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो । रिक्त यी क्षेत्रमा एकैपटक निर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।