काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको पार्टी बैठक बस्ने भएको छ । आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न बिहीबार लोसपाको बैठक बस्ने भएको हो ।
उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने भएको छ । लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा बैठकमा छलफल गरिने भएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । पुस १० गते अगाडिको पाँच दलीय गठबन्धन दुई महिना नपुग्गदै टुंगिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई तिहाइभन्दा बढी मन्त्रालय रिक्त हुन पुगेको थियो । आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीचको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा प्रारम्भिक छलफल भइरहेको छ ।