चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।

सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ ।”

सोही गाउँका अर्का किसान हरिबहादुर नेपालले पनि सुन्तला बिक्रीका लागि बजारको समस्या नरहेको बताए । बगानमै आएर व्यापारीले सुन्तला खरिद गरिरहेको उनले बताए । सुन्तलाले मूल्य पाए पनि पछिल्लो केही वर्षयता बोट मर्ने क्रम बढेकाले उत्पादनमा कमी आएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताए । उनका अनुसार इच्छाकामना–१ को भाराङ, वडा नं २ को तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।

यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ ।

गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here