काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो ।
नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्री स्वतः स्थानान्तरण गर्नुपर्नेमा कतिपय सरकारी निकायले त्यसो नगरेको पाइएकाले यस्तो निर्देशन दिइएको प्रधानमन्त्रीका आईटी सल्लाहकार प्रकाश रायमाझीले जानकारी दिए ।
सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेको हुँदा समयमै अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने अवस्था भएकाले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको जनाएका छन् ।