डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा सङ्कल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् ।
डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको दुई दिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताहरूले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताए । यसैकारण आवश्यकताअनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरूलाई उनले आग्रह गरे । उनले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता डा रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाउँमा र सही ढङ्गले प्रयोग गर्न आग्रह गरे ।
सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तहसँग रहे पनि स्रोतसाधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताए । उनले कम आम्दानी र भौगोलिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका तहलाई राज्यले विशेष सहयोग गरेर समानुपातिक विकासमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज नाराको अध्यक्षका शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताए । उनीहरूले पर्यटन जलपर्यटनसहित, कृषि, औद्योगिक पूर्वाधार, दिगो विकासलाई दृष्टिगत गरी तीनै तहका सरकार र निजी क्षेत्रले योजनाबद्ध विकासका लागि सहकार्य जरुरी रहेको धारणा राखे ।