काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सञ्चालन भएको छ । बिहान ८ बजेदेखि सुरू हुने परीक्षा चैत २९ गते सम्म सञ्चालन हुने भएको हो । यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी एसईईमा सहभागी भएका छन् । एसईईमा सहभागी परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी भएका छन् ।
त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।