काठमाडौं । खगोलविद्हरूले अहिलेसम्मकै ठुलो ब्ल्याक होल पत्ता लगाएका छन् । खगोलविद्हरू ग्राभिटेसनल लेन्सिङ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल पत्ता लगाएका हुन् ।
खगोलविद्ले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दा उक्त ब्ल्याकहोल पत्ता लगाएका डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै जानकारी दिएका छन् । अनुसन्धानको नेतृत्व गरेका डा. जेम्स नाइटिङ्गेलले आफू एक खगोलविद्का रुपमा पनि त्यो ब्ल्याकहोल कति ठुलो छ भनेर बुझ्न गाह्रो भएको बताएका छन् ।
एबेल १२०१ तारा मण्डलको एक आकाशगङ्गामा रहेको उक्त ब्ल्याक होल सूर्यभन्दा ३० अर्ब गुणा ठुलो रहेको अनुमान गरिएको छ । सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्बिरहरू अध्ययन गरिरहँदा प्रकाशको ठुलो चाप देखेपछि यो ब्ल्याकहोलको अन्वेषण सुरु गरिएको थियो ।