काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने निर्णय गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र भएपश्चात सरकारले निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ । हालसम्म रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको बताइएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको थियो ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।