चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको हो ।
बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।
बिहीबार फेरि बहस सुरु हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । भोलि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्ने उनले बताए । साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।