काठमाडौं । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएको छ । समिट अपार्टमेन्ट बनाउन जग राख्न डोजर लगाए खन्दा शुक्रबार राति वरपरका घरहरु भासिएको हो ।
अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको र थप दुई घर दुई तल्लासम्म भासिएको छ । साथै सडक समेत चर्किएको छ । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ ।
उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ ।


























